
काठमाण्डु, २२ भदौ– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सहमतिको सरकार बनाउने प्रयास गरिने बताएका छन् ।
सर्वोच्च अदालतको परमादेशमा शुक्रबार मुख्यमन्त्री नियुक्त भएर पद तथा गोपनियताको सपथ लिएपछि सञ्चारकर्मीसँग कार्कीले आफ्नै नेतृत्वको सरकारलाई सहमतीय सरकारमा रुपान्तरण गर्ने प्रयास हुने बताए ।
काँग्रेस–एमालेसहितका दल मिलेर सहमतीय सरकार बनाउने आधार बलियो रहेको उनको भनाइ थियो । यद्यपि कार्यकाल आधाआधा बाँडेर दुई ठूला दल मात्र मिलेर सरकार बनाउन सम्भव नरहेको उनको स्पष्टोक्ति थियो ।
‘कार्यकाल आधाआधा बाँड्ने काम हुँदैन’, कार्कीले भने, ‘सबै मिलेर सहमतीको प्रदेश सरकार बनाउने काम हुन्छ सहमति के हुन्छ भने सबै मिलेर सरकार बनाउने सहमति हुन्छ ।’
कार्कीले विश्वासको मत लिने समय पुग्दासम्म सहमतिको सरकार निर्माणको पहल हुने जानकारी दिए । कार्कीले आफूले विश्वासको मत पाउने सम्भावना रहेको दाबी गरे ।