
विराटनगर, २२ भदौ– कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतबहादुर कार्कीले सानो आकारको मन्त्रिपरिषद् विस्तार गरेका छन् ।
सर्वोच्च अदालतको परमादेशका आधारमा संविधानको धारा ७६ (३) अनुसार मुख्यमन्त्रीमा नियुक्त भएका कार्कीेले आफ्नै दल एमालेबाट तीन मन्त्री र एक राज्यमन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।
तिलकुमार मेन्याङ्वो ऊर्जा, पाँचकर्ण राई वन तथा पर्यटन र एकराज कार्की भौतिक पूर्वाधारमन्त्री नियुक्त भएका छन् ।
यस्तै सृजना राईलाई सामाजिक विकास राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ । मन्त्रीहरुलाई प्रदेश प्रमुख परशुराम खापुङ र राज्यमन्त्री राईलाई मुख्यमन्त्री कार्कीले पद तथा गोपनियताको सपथ गराए ।
सर्वोच्चको संवैधानिक इजलासले बिहीबार काँग्रेस नेता उद्धव थापाले बैठकको अध्यक्षता गरेका सदस्यको समेत समर्थनमा विश्वासको मत लिएको भन्दै उनलाई बर्खास्त गरेको थियो ।
अदालतले ठूलो दलको संसदीय दल नेतालाई २४ घण्टाभित्र मुख्यमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो ।