
काठमाण्डु, २२ भदौ– एमाले नेता हिक्मतकुमार कार्की कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।
सर्वोच्च अदालतको परमादेशमा कार्की शुक्रबार दोश्रोपटक मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।
सर्वोच्चको संवैधानिक इजलासले बिहीबार काँग्रेस नेता उद्धव थापाले बैठकको अध्यक्षता गरेका सदस्यको समेत समर्थनमा विश्वासको मत लिनु असंवैधानिक भएको ठहर गर्र्दै संविधाको धारा ७६ (३) अनुसार प्रदेशसभाको सबैभन्दा ठूलो दलका नेतालाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो ।
कार्की यसअघि २०७९ पुस २४ मा पहिलोपटक मुख्यमन्त्री नियुक्त भएका थिए । माओवादी केन्द्र र जसपाले समर्थन फिर्ता लिएपछि कार्कीले गत १५ असारमा प्रदेशसभामा विश्वासको मत मागेका थिए । तर, विश्वासको मत नपाएपछि उनी पदमुक्त भएका थिए ।
प्रदेश प्रमुख पर्शुराम खापुङले कार्कीलाई संविधानको धारा १६८ को उपधारा (३) अनुसार मुख्यमन्त्रीमा नियुक्त गर्र्दै पद तथा गोपनियताको सपथ समेत खुवाएका छन् ।