चितवन, धादिङ र मकवानपुरमा सार्वजनिक बिदा

काठमाण्डु टुडे २०८० भदौ २२ गते १३:१७ मा प्रकाशित

काठमाण्डु, २२ भदौ– बागमती प्रदेश सरकारले चेपाङ समुदायको राष्ट्रिय पर्व छोनाम (न्वागी) का अवसरमा शुक्रबार सार्वजनिक बिदा दिएको छ।

चेपाङ समुदायले आज आफ्नो प्रमुख परम्परागत पर्व छोनाम (न्वागी) मनाउँदै छन् । चेपाङ समुदायको बसोबास रहेका चितवन, मकवानपुर र धादिङमा सार्वजनिक बिदा दिने निर्णय प्रदेश मन्त्रिपरिषदले यसअघि नै गरेको थियो ।

चितवन, धादिङ, मकवानपुर र गोरखाका चेपाङ धादिङको च्याङलीमा जम्मा भएर न्वागी पर्व मनाउँदैछन् । विगत आठ वर्षदेखि चेपाङ समुदायले चेपाङ सङ्घको पहलमा सामूहिक न्वागी मनाउँदै आएका छन् ।

चेपाङ समुदायमा पितृलाई नचढाई र पूजा नगरी नयाँ फलफूल र अन्नपात खानु हुन्न भन्ने धार्मिक मान्यता छ ।

यो पर्वका दिन घैया धानको चामल, पिँडालु, निबुवा, घिरौलालगायत अन्न र फलफूल भूमि र पितृलाई चढाउने गरिन्छ ।

नेपालमा चेपाङ जातिको संख्या ८४ हजार तीन सय ६४ छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us