किशोरीलाई चितुवाले घिसारेर तीन सय मिटर पर लगिसकेको थियो, गाउँलेले छुटाए

काठमाण्डु टुडे २०८० भदौ २२ गते ७:५६ मा प्रकाशित

बैतडी, २२ भदौ– बैतडीको पञ्चेश्वर गाउँपालिका–३ बगरेठी मेलडुङरीमा एक किशोरी चितुवा आक्रमणमा घाइते भएकी छन् ।
घाइते हुनेमा १७ वर्षीया पुजा लुहार रहेको प्रहरीले जनाएको छ ।

बिहीबार मध्याह्न नजिकै वनमाघाँस काट्दै गर्दा उनलाई चितुवाले आक्रमण गरेको थियो । चितुवाले उनलाई घिसारेर तीन सय मिटर परसम्म लगेको थियो । सँगै घाँस काट्न गएकाहरु र स्थानीयले होहल्ला गरेपछि चितुवा उनलाई छाडेर भागेको थियो ।

विभिन्न समयमा चितुवा आक्रमणमा सो गाउँका २७ जनाले ज्यान गुमाएका छन् ।

अचेत अवस्थामा भेटिएकी उनललाई उद्धार गरी उपचारका लागि डडेल्धुरा अस्पताल लगिएकोे बैतडी प्रहरी प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए ।

अहिले किशोरीको होस खुलेको र अवस्था खतरामुक्त रहेको चिकित्सकले बताएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us