
मकवानपुर, २१ भदौ–काँग्रेसले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठविरुद्ध भातृ संस्थालाई सडकमा उतार्न थालेको छ ।
काँग्रेस सम्वद्ध युवा संगठन नेपाल तरुण दलले गृहमन्त्री श्रेष्ठको राजीनामाको माग गर्दै हेटौंडामा प्रदर्शन गरेको हो । तरुण दलले हेटौंडा–२ स्थित पार्टी कार्यालयबाट बुद्धचोकसम्म गृहमन्त्रीविरुद्ध नाराबाजीसहित मसाल जुलुस निकालेको थियो ।
प्रदर्शनका सहभागीले कांग्रेस सहमहामन्त्री तथा दलका पूर्वअध्यक्ष महेन्द्र यादवमाथि खुकुरी प्रहार भएको घटनाको छानविन गरी दोषीलाई हदैसम्मको कारबाहीको माग गरेका थिए ।
तरुण दल केन्द्रीय सदस्य राजेश भेटवालले गृहमन्त्रीले राजीनामा दिनुपर्ने र यादवमाथि आक्रमण गर्नेमाथि कडा कारबाही हुनुपर्ने माग गरे । आक्रमणका लागि पर्दा पछाडि बसेर उक्साउने र निर्देशन दिनेलाई पनि कारबाही गर्नुपर्ने माग तरुण दलको छ ।