काठमाण्डु, १४ भदौ– आज काठमाण्डु उपत्यकासहित मुलुकका प्रमुख सहरमा सांस्कृतिक पर्व गाइजात्रा मनाइँदैछ ।
गाईलाई सिंगारेर नगर परिक्रमा गराइँने यो पर्व प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि भाद्र कृष्ण अष्टमीका दिनसम्म मनाइने परम्परा छ ।
विशेष गरी नेवार समुदायले मनाउने गाई जात्रामा गाई या गाईको चित्र अंकित तस्वीर लगाएका मानिसलाई नगर परिक्रमा गराइन्छ ।
आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी नगर परिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका आफन्त गाईको पुच्छर समाइ वैतरणी पार हुन्छन् र मृतात्माले मुक्ति प्राप्त गर्छन् भन्ने धार्मिक विश्वास छ ।
हाँस्यव्यंग्य, नाटक प्रदर्शन तथा लाखे नाच पनि गाईजात्राका दिन देखाइने गरिन्छ । यमलोकको मुख्यढोका वर्षभरि बन्द रहने र पृथ्वीलोकमा गाईजात्रा निकालेपछि यमलोकको ढोका खुल्ने र मृतकका आत्माले यमलोक प्रवेश पाई मुक्ति पाउने पुराणमा उल्लेख छ । एक वर्षभरि दिवंगत भएकाका परिवारजनले उनीहरुको सम्झनामा दूध, फलफूल, रोटी, चिउरा, दही, क्वाँटी दान गर्ने गर्दछन् ।
आफन्तको मृत्यु भएर सोकमा डुबेका परिवारजनलाई हसाउने र मरेका आफन्तको शोक हटाउने चाडका रुपमा पनि यसलाई लिने गरिन्छ । काठमाण्डुका तत्कालीन राजा प्रताप मल्लले पुत्र वियोगमा शोकमा डुबेकी रानीको मन बहलाउन गाइजात्राको चलन ल्याएको इतिहास छ ।
प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन जनतालाई आ–आफ्नो घरका मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनू भन्ने आदेश आज्ञा दिएपछि यो पर्व सुरु भएको इतिहासमा उल्लेख छ ।
ललितपुरको पाटनसँगै अन्य शहर तथा काठमाण्डुको वसन्तपुरसहितका स्थानमा गाईजात्रा मनाइन्छ । यस्तै भक्तपुरमा गाईजात्राको दिन ताहामच्चा र साँचा बनाउनुका साथै घिन्ताङघिसी र माँक प्याखँ नाच (बाँदर नाच) नाच देखाउने प्रचलन छ ।
यस पर्वमा प्रहसन, सामाजिक विकृतिप्रति व्यंग्यात्मक प्रदर्शन, नाचगान तथा मृत व्यक्तिको सम्झनामा रामायणको करुण रसका गीत पनि गाइन्छ ।
गाईजात्रा पर्व काठमाण्डु उपत्यकासहित नेवार बाहुल्य सहरहरु बनेपा, धुलिखेल, पनौती, बाह्रविसे, त्रिशूली, दोलखा, खोटाङ, भोजपुर, चैनपुर, इलाम, धरान, विराटनगर, वीरगञ्ज, हेटौँडा र पोखरामा विशेष रुवपमा मनाइन्छ ।