
काठमाण्डु, ११ भदौ– एमाले अध्यक्ष केपी ओलीले आफू र आफ्ना दलका नेताको नाम मुछिएका ठूला भ्रष्टाचार काण्डको छानबिन गर्न सरकारलाई चुनौती दिएका छन् ।
सोमबार काठमाण्डुमा आयोजित एक कार्यक्रममा ओलीले एमाले नेताका नाम जोडिएका गिरीबन्धु टी स्टेट, यति र ओम्नीसहित सबै प्रकरण छानबिन गर्न माग गरे । ओलीले सरकार र सत्तारुढ दललाई भ्रष्टहरुको संज्ञा दिए । भ्रष्टाचारका सबै प्रकरणमा छानबिन भए सत्ता पक्षका नेता नै जेल जाने बताए ।
गिरीबन्धु टी स्टेटको जग्गा गैरकानूनी रूपमा बिक्री गरी कमिसन खानेहरूले आफूलाई बदनाम गराउने कोसिस गरिरहेको ओलीको जिकिर थियो । ‘अस्तिसम्म ललिता निवास ललिता निवास भन्दै थिए ।
अहिले भागो रे भाग भइराखेको छ । यताको ढोकाबाट, उताको ढोकाबाट भागो रे भाग कस्तो भागो रे भाग’, उनले भने, ‘अहिले चिया बगान निस्किएको छ । गर न त छानबिन । बिना कानुन ५३ सालमा १९ बिगा जमिन बेच्न दिएको थियो कमिसन खाएर, ६० सालमा ५१ बिगा जमिन बिना कानुन बेच्न दिएको थियो कमिसन खाएर । छानबिन गर जेल जाऊ ।’
ओलीले गैह्रकानूनी रुपमा जग्गा बिक्री भइरहेकामा आफूले कानून बनाएर नियमन गरेको दाबी गरे । ‘हामीले कानुन बनाइदिएका हौं । अब उप्रान्त गैरकानुन ढंगले यसरी कमिसन खाएर बेच्न पाइँदैन भनेर । कानुन बनाउँदा कसैले कमिसन खान्छ ?’ ओलीले भने ।
एमाले कमिसनको पछि कुद्ने पार्टी नभएको ओलीको भनाइ छ ।