काठमाण्डु, ४ भदौ– गृह मन्त्रालयले नेपाल प्रहरीका ५ वरिष्ठ उपरीक्षक (एसएसपी) हरुको सरुवा गरेको छ ।
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सोमबार एसएसपी सरुवाको निर्णय गरेका हुन् । जिल्ला प्रहरी परिसर काठमाण्डुको प्रमुखमा एसएसपी भुपेन्द्रबहादुर खत्री आएका छन् ।
खत्री यसअघि प्रहरी महानिरीक्षकको सचिवालयमा थिए । उनले रौतहट प्रहरी प्रमुख हुँदा जिउँदा इटाभट्टामा मानिस जलाउने काँग्रेस नेता एवं पूर्वमन्त्री मोहम्मद आफताब आलामलाई पक्राउ गरी मुद्धा चलाएका थिए । आलम हाल जेलमै छन् । काठमाण्डु परिसरमा कार्यरत दानबहादुर कार्कीको प्रहरी महानिरीक्षकको सचिवालयमा सरुवा भएको छ ।
यस्तै काठमाण्डु उपत्यका अपराध महाशाखाको प्रमुख रहेका एसएसपी डा. मनोज केसीको प्रहरी मुख्यालयअन्तर्गतको महिला बालबालिका सेलमा सरुवा भएको छ । केसीले बहुचर्चित नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नहरुलाई कानूनी दायरामा ल्याउने कामको नेतृत्व गरेका थिए ।
काँग्रेस नेता तथा तत्कालनि गृहमन्त्री बालकृष्ण खाँणलाई पक्राउ गरेकोमा आपत्ति जनाउँदै काँग्रेस सभापति शेरबहादुर देउवाले पटकपटक केसीको सरुवा गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई दबाब दिएका थिए ।
उपत्यका अपराध अनुसन्धान कार्यालयमा राष्ट्रिय सुरक्षा परिषदमा कार्यरत एसएसपी सोमेन्द्रसिंह राठौर आएका छन् ।
अपराध अनुसन्धानमा दक्ष मानिने राठौर प्रहरी निरीक्षकदेखि प्रहरी नायब उपरीक्षक र प्रहरी उपरीक्षक हुँदा पनि तत्कालीन अपराध महाशाखामा कार्यरत थिए । यस्तै एसएसपी सानुराम भट्टराईको राष्ट्रिय सुरक्षा परिषद सचिवालयमा सरुवा भएको छ ।