
काठमाण्डु, २ भदौ– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले कोशी प्रदेशमा विश्वासको मत लिन सत्ता पक्षले आर्थिक चलखेल थालेको आरोप लगाएका छन् ।
विश्वासको मत लिने दिनको टुङ्गो लागेसँगै सत्ता पक्षले सांसद खरिदको प्रयास गरेको दाबी लिङदेनले गरेका छन् । विश्वासको मत दिने सांसदलाई १० करोड रुपैयाँसँगै मन्त्री पदको अफर गरिएको उनको भनाइ छ ।
‘पूर्वमा विश्वासको मत लिने दिनको टुङ्गो भएसँगै खरिदेहरु प्रदेश सभा सदस्यहरूको घरदैलोमा गएर मन्त्री र १० करोडको प्रस्ताव गर्दै छन् भन्ने हल्ला काठमाण्डुसम्मै आइपुग्यो त’, उनले लेखेका छन् ।
कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले प्रदेशसभामा ४ भदौमा विश्वासको मत लिँदै छन् ।