कुलमानले पहिलोपटक भनेः प्रचण्डको नेतृत्वमा लोडसेडिङ अन्त्य भएको हो

काठमाण्डु टुडे २०८० भदौ १ गते १६:२३ मा प्रकाशित

काठमाण्डु, १ भदौ– नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा मुलुकले लोडसेडिङबाट मुक्ति पाएको बताएका छन् ।

प्राधिकरणको ३८औं वार्षिकोत्सवका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा घिसिङले उक्त कुरा बताए । घिसिङले सात वर्षअघिको कहाली लाग्दो लोडसेडिङको अवस्थाबाट हाल विद्युत विदेश निर्यात गर्ने अवस्थामा पुगेको उल्लेख गरे । घिसिङले हिउँदमा १४ घण्टा र वर्षातमा समेत ६ देखि ८ घण्टासम्म लोडसेडिङ नेपालीले ब्यहोरोको स्मरण गरे ।

‘हिउँदमा दैनिक १४ घण्टासम्म लोडसेडिङ प्रक्षेपण गर्नुपर्ने अवस्थाबाट गुज्रिरहेको अवस्थामा वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको तत्कालीन सरकारको स्पष्ट निर्देशन र बलियो साथ पाएको विद्युत प्राधिकरणले २०७३ कात्तिकबाट राजधानी काठमाण्डु उपत्यकासहित प्रमुख सहरबाट लोडसेडिङ अन्त्यको सुरुवात गरेको थियो’घिसिङले भने ।

औद्योगिक क्षेत्रको पनि लोडसेडिङ अन्त्य गरी २०७५ वैशाखबाट देशलाई पूर्ण रुपमा लोडसेडिङ मुक्त गरिएको स्मरण घिसिङले गरे । उनले सर्वसाधारणलाई समेत शेयर जारी गर्ने गरी प्राधिकरणको तेस्रो चरणको वित्तीय पुनर्संरचना प्रस्ताव स्वीकृतिका लागि सरकारसमक्ष पेश गरिएको बताए ।

यस्तै संस्थाभित्रको आर्थिक पारदर्शिता, जवाफदेहिता र सुशासनलाई कडाइका साथ लागू गरिएको उनको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us