लम्पीस्किनबाट मरेका पशुचौपायाको क्षतिपूर्ति दिन सकिँदैनः मन्त्री भुसाल

काठमाण्डु टुडे २०८० साउन ३२ गते १८:३७ मा प्रकाशित

काठमाण्डु, ३२ साउन– सरकारले महामारीका रुपमा फैलिएको लम्पीस्किन रोगबाट मरेका पशु चौयापाको क्षतिपूर्ति नदिने भएको छ ।

बिहीबार प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा उपस्थित भएका कृषिमन्त्री डा. बेदुराम भुसालले लम्पीस्किनबाट मरेका पशु चौपायाको क्षतिपूर्ति दिन नसकिने बरु राहत भने दिन सकिने उल्लेख गरे ।

समितिले लम्पीस्किन महामारीबाट भएको क्षति र रोकथाम तथा किसानलाई राहत दिने विषयमा सरकारका तर्फबाट भएका प्रयासबारे जानकारी लिन मन्त्री भुसाललाई बोलाएको थियो ।

भुसालले पशुचौपाया मरेका किसानलाई राहत दिन कार्यविधिको मस्यौदा भइरहेको जनाए । प्रधानमन्त्रीकै उपस्थितिमा बैठक बसेर कार्यविधि र मापदण्ड बनाउने प्रक्रिया अघि बढाइएको उनको भनाइ थियो ।

बैठकमा सांसदहरुका प्रश्नको जवाफ दिने क्रममा मन्त्री भुसालले लम्पीस्किनबाट हालसम्म १३ लाख पाँच हजार ३ सय ६१ पशुचौपाया संक्रमित भएको बताए । पछिल्लो पाँच महिनामा ४७ हजार ६ सय ४९ पशु मरेको तथ्याङ्क प्रस्तुत गरे ।

यस्तै उनले तान्जानिया, टर्की र जोर्डनबाट लम्पीस्किनविरुद्धको भ्याक्सिन आयात गरिएको जानकारी दिए ।

हालसम्म १३ लाख ६९ हजार डोज भ्याक्सिन आएको र ६ लाख ८६ हजार चार सय ५० पशुलाई भ्याक्सिन लगाइसकिएको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us