
काठमाण्डु, ३० साउन– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ९ केजी सुन तस्करी प्रकरणमा संलग्नताको आरोप लागेका माओवादी उपाध्यक्ष कृष्णबहादुर महरामाथि प्रहरीले अभियोजन दर्ता गर्ने बताएका छन् ।
उनले केही दिनभित्रै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले महरालाई प्रतिवादी बनाएर अभियोजन दर्ता गर्ने बताए । उनले आज÷भोलिमै प्रहरीले त्यसबारे कदम चाल्ने स्पष्ट गरे ।
मंगलबार सम्पादकहरुसँगको छलफलमा उनले सुन तस्करीमा संलग्न जोसुकैमाथि कारबाही हुने बताए । महरालाई आफूले बोलाएर के भएको भन्नेबारे सोधिसकेको उनले जानकारी दिए । प्रहरी उच्च नेतृत्वलाई पनि दोषी देखिए नछाड्ने भनेको प्रचण्डको भनाइ थियो ।
‘प्रहरी नेतृत्वलाई निष्पक्ष छानबिन गर्न भनेको छु’, उनले भने, ‘दोषी कोही नउम्किऊन्, निर्दोष नपरून् भनिएको छ । चिनियाँ व्यापारीले चुरोट (भेप) मा लुकाएर ल्याएको ९ केजी सुन प्रकरणमा महरा मुछिएका छन् ।
तस्कर चिनियाँ नागरिकसँग महरा र उनका छोरा राहुलको पटकपटक कुराकानी भएको प्रतिवेदनसहितको कल रेकर्ड प्रहरीले सरकारी वकिल कार्यालयमा बुझाएको छ । प्रधानमन्त्रीले महरा संलग्न भएको भए किन अनुसन्धान नगरेको भनेर सोधेको बताए ।
‘प्रतिवेदनमा संलग्न भनेर उल्लेख भगरेपछि महराजीमाथि किन अनुसन्धान भएन र मुद्धा चलेन भनेर प्रहरीलाई भनें’, उनले भने, ‘दोषी नभए आमनागरिकलाई दोषी छैनन् भन्ने कुरा प्रहरीले भन्नुपथ्र्यो ।’
उनले महराका बाबुछोरा संलग्न भए बोलाएर बयान लिन र अनुसन्धान गर्न प्रहरी नेतृत्वलाई निर्देशन दिएको प्रचण्डले जनाए ।