महराबारे माओवादीले होइन, सीआईबीले भन्नुपर्छ: गगन थापा
काठमाण्डु टुडे
२०८० साउन २९ गते १३:३७ मा प्रकाशित

काठमाण्डु, २९ साउन– कांग्रेस महामन्त्री गगन थापाले सुन तस्करीको आरोप लागेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराबारे केन्द्रीय अनुसन्धान ब्युरोले स्पष्ट पार्नुपर्ने बताएका छन ।
माओवादीको पदाधिकारी बैठकले महरालाई सुन तस्करी प्रकरणबारे स्पष्ट पार्न भनेको प्रति आपत्ति जनाउँदै महामन्त्री थापाले यस्तो बताएका हुन । उनले सीआईबीले यसबारे प्रष्ट पार्नुपर्ने बताएका छन ।
आज (सोमबार) बसेको पार्टीको संसदीय दलको बैठकमा धारणा राख्दै थापाले यस्तो बताएका हुन । उनले भने, ‘माओवादीको पदाधिकारी बैठकले कृष्णबहादुर महरालाई प्रष्ट पार्न भनेछ ।
यो कुरा पार्टीको बैठकले भनने होइन । सीआईबीले छानबिन गरेर कुरा के हो भन्नुपर्छ । सुन तस्करी प्रकरणमा सरकारको निकायले छानबिन गर्नुपर्छ । राज्यका संस्थालाई हामीले अविश्वास गर्नुहुँदैन ।’
भेपमा सुन तस्करी प्रकरणमा पूर्व सभामुख समेत रहेका महरा र उनका छोरा राहुल महराको नाम आए पनि प्रहरीले अनुसन्धान नगरेको भन्दै चौतर्फी आलोचना भइरहेको छ । उनले आफ्नो नेतृत्वको गठबन्धन सरकारले गरेका राम्रा र नराम्रा दुवै कामको जिम्मा कांग्रेसले लिनुपर्ने बताएका छन ।