ललिता निवास प्रकरणमा माधव नेपालको प्रष्टीकरण, मेरो चित्त दुःखेको छ

काठमाण्डु टुडे २०८० साउन २९ गते ११:४६ मा प्रकाशित

काठमाण्डु, २९ साउन– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा सारिएको प्रकरणको छानबिनमा सहयोग गर्ने बताएका छन् ।

युरोप भ्रमणबाट फर्किएपछि सोमबार अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा नेपालले उक्त प्रकरणको छानबिनमा सघाउने बताएका हुन । ‘बालुवाटार जग्गामा केही बदमासी भएका छन् भने त्यसको छानबिन होस्’, नेपालले भने, ‘त्यसमा मेरो तर्फबाट सहयोगी भूमिका रहन्छ ।’ प्रधानमन्त्री भएका बेला सरकारको जग्गा सरकारी स्वामित्वमा हुनुपर्छ भनेर केही निर्णय गरेको प्रष्टीकरण उनले दिए ।

मन्त्रिपरिषदले सरकारी र अरु जग्गा कानूनसम्मत छुट्याउन भनिएकामा कसैले स्वार्थ राखेर बदमासी गरेको हुन सक्ने उनको भनाइ थियो । आफूले सट्टाभर्ना नगरी ७ रोपनीभन्दा बढी जग्गा सरकारको नाममा ल्याउने निर्णय गरेको बताए । तर, निर्णय गर्ने बेलामा कसैले पनि उक्त गज्जाको झमेलाबारे नभनेको दाबी नेपालले गरे । निर्दोष नपर्ने र दोषी नउम्कने गरी छानबिन गर्नुपर्ने धारणा उनले राखे । नेपालले उक्त निर्णय गरेर आफूले अपराध र भ्रष्टाचार नगरेको बताए ।

‘मैले केही बिराएको छैन । बदमासी गरेको छैन । कुनै अपराध गरेको छैन,’ उनले भने, ‘भ्रष्टाचार गरेको छैन । कुनै लेनदेन गरेको छैन । म आत्तिएको छैन देशका लागि केही गर्छु भन्दा चित्त दुःखेको छ ।’

सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्रीद्वय नेपाल र डा. बाबुराम भट्टराईलाई पनि ललिता निवास प्रकरणमा छानबनिको दायरामा ल्याउन आदेश दिएको भोलिपल्ट नेपाल युरोप उडेका थिए । गम्भीर विषयमा छानबिनको दायरामा ल्याउन भनिएका नेपाल विदेश गएको विषयमा एमालेले प्रतिनिधिसभामा विरोध जनाएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us