
मुस्ताङ, २८ साउन– मुस्ताङमा बाढीले प्रहरी चौकी बगाएको छ ।
बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा आएको बाढीले प्रहरी चौकी बगाएको हो । बाढीले कम्तिमा १५ घर, एउटा निर्माणाधीन पक्की पुल, केही गाडी र बिजुलीका पोलसमेत बगाएको प्रमुख जिल्ला अधिकारी अनुप केसीले बताए ।
केसीका अनुसार प्रहरीका हतिया भने सुरक्षित छन् । कागबेनी र छुसाङ जोड्ने पुल बगाएपछि माथिल्लो मुस्ताङसँगको सडक सम्पर्क टुटेको छ । बाढी बस्ती पसे पनि मानवीय क्षति भने नभएको प्रजिअ केसीले बताए ।
बाढी बस्ती पस्न थालेलगत्तै सेना, प्रहरी र सशस्त्र प्रहरीले स्थानीयलाई सुरक्षित स्थानमा सारेकाले मानवीय क्षति हुन नपाएको उनको भनाइ छ ।
गाउँपालिका अध्यक्ष रिङजिन नामगेल गुरुङले बाढीबाट भएको क्षतिको संकलन भइरहेको जानकारी दिए ।