
काठमाण्डु, २१ वैशाख– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले महिलालाई विज्ञापनको साधन बनाइनु नहुने बताएकी छन । आज बिहीबार ललितपुरमा आयोजित विज्ञापनमा लैङ्गिक उत्तरदायित्व विषयक छलफल कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन ।
उनले भनिन्, ‘महिलालाई विज्ञापनको साधन बनाउनु हुँदैन। कुनैपनि कुराको विज्ञापन गर्दा महिला नै छनोट हुनुपर्ने किन ? विभिन्न खाले विज्ञापन हुन्छन् ? महिलाहरुको सुन्दरताका कारणले पनि होला भन्नुभयो, तर त्यसो हो जस्तो मलाई लाग्दैन।’
उनले कुनै पनि कुराको विज्ञापन गर्दा महिला नै छनोट हुनुपर्ने अवस्था आउन दिनु नहुने बताएकी छन । उनले कतिपयले महिलाको सुन्दरताका कारण विज्ञापनमा देखिने गरेको भनेपनि सुन्दरताका लागि मात्रै महिलाहरु विज्ञापनको साधन बन्नेकुरा आफैँमा गलत रहेको टिप्पणी गरेकी छन ।
उनले भनिन्, ‘महिलाहरुको सुन्दरताका कारणले पनि होला भन्नुभयो, तर त्यसो हो जस्तो मलाई लाग्दैन । सुन्दरता हरेक वस्तुमा हुन्छ, पुरुषमा हुन्छ, महिलामा हुन्छ ।
समाजका हरेक वस्तुमा हुन्छ, सुन्दरताकै कारण विज्ञापनको साधन बन्नुपर्छ भन्नेकुरा आफैँमा बेठिक छ।’