टोपबहादुर रायमाझीलाई खोजी गरिरहेका छौं: काठमाण्डु प्रहरी प्रमुख कार्की

काठमाण्डु टुडे २०८० वैशाख २१ गते १४:१२ मा प्रकाशित

काठमाण्डु, २१ वैशाख– एमाले सचिव एवं पूर्व ऊर्जामन्त्री टोपबहादुर रायमाझीलाई प्रहरीले खोजी गरिरहेको काठमाण्डुका प्रहरी प्रमुख दानबहादुर कार्कीले जानकारी दिएका छन ।

नेपाली युवालाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै लाखौं असूली गरेको गिरोहलाई सहयोग गरेको आरोपमा पक्राउ पूर्जी जारी भएपछि प्रहरीले खोजी कार्य सुरु गरेको हो ।

काठमाण्डुमा हिजो बुधबार पक्राउ पूर्जी जारी हुँदा उनी भने अर्घाखाँचीको महेन्द्र विद्योदय माध्यमिक विद्यालयको हिरक महोत्सवमा विशेष अतिथिका रुपमा सहभागी भएका थिए ।

कार्यक्रममा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे पनि सहभागी रहेका थिए । राति ९ बजे उनी घिमिरेसँगै भैरवहा विमानस्थलबाट काठमाण्डु फर्कने तयारीमा भएपनि पक्राउ परिनसक्ने भएपछि उनले स्थलमार्गबाट काठमाण्डु आउने तयारी गरेका थिए ।

प्रहरीले उनको खोजी गरिरहेको छ जिल्ला प्रहरी परिसर, काठमाण्डुका प्रमुख एसएसपी कार्कीले जानकारी दिएका छन । हालसम्म रायमाझी पक्राउ परेका छैनन् ।

केही प्रहरी अधिकृतहरुले उनले आफू कार्यालयमा हाजिर हुने भन्दै पक्राउ नगरिदिन आग्रह गरेको बताएका छन । तर, काठमाण्डु प्रहरी प्रमुख कार्कीले आफूलाई त्यस्तो कुनै फोन नआएको जानकारी दिएका छन ।

रायमाझीको नक्कली शरणार्थी बनाउने गिरोहका सदस्य केशव दुलाल र सानु भण्डारीसँग निकट सम्बन्ध देखिएको प्रहरी स्रोतले जानकारी दिएको छ । दुलाल कांग्रेस नेतृ सुजाता कोइराला परराष्ट्रमन्त्री हुँदा उनका निजी सहायक थिए ।

भण्डारी ललितपुरका व्यवसायी हुन् । उनीहरुले रायमाझीलाई विभिन्न स्थानमा घुमाउनेदेखि उनको छोरा सन्दीपको नाममा डेढ करोड रुपैयाँको चेक समेत काटिदिएका थिए । छोरा सन्दीपलाई पनि प्रहरीले गएराति नै बुटवलबाट पक्राउ गरिसकेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us