बसबाट हाम फाल्दा महिलाको मृत्यु

काठमाण्डु टुडे २०८० वैशाख २ गते १८:२५ मा प्रकाशित

दाङ,२ वैशाख– दाङमा ब्रेक फेल भएर अनियन्त्रित बनेको बसबाट हाम फाल्दा एक महिलाको मृत्यु भएको छ । मूत्यु हुनेमा बंगलाचुली गाउँपालिका–६ लापे ३० वर्षीया यमि घर्ती मगर रहेकी छन ।

घोराही–लमही सडकखण्डमा आज शनिबार दिउँसो १ बजे ना ४ ख ६९५० नम्बरको बस मुसोटको घुम्ती नजिकै ब्रेक फेल अनियन्त्रित भएको थियो ।

सो क्रममा बसबाट हाम फाल्दा घाइते भएकी बंगलाचुली मगरको लमही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी राजनकुमार गौतमले जानकारी दिएका छन ।

दुर्घटनामा बसमा सवार मृतकको ५ वर्षीय छोरी आहाना घर्ती मगर, ऐरावती गाउँपालिका–२ निवासी सरस्वती आचार्य, लमही नगरपालिका–५ निवासी ५ वर्षीय सुरज बस्नेत घाइते भएका छन् ।

घाइतेहरु लमही अस्पतालमा उपचार पश्चात डिस्चार्ज भएको प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us