काठमाण्डुको टुँडिखेलमा ओशो महोत्सव

काठमाण्डु टुडे २०८० वैशाख १ गते १४:३५ मा प्रकाशित

काठमाण्डु,१ वैशाख– काठमाण्डुको टुँडिखेलमा आज (शुक्रबार) नयाँ वर्षको अवसरमा ओशो तपोवनले ओशो महोत्सवको आयोजना गरेको छ ।

आज बिहान ९ बजेदेखि सुरु भएको महोत्सव राति ९ बजेसम्म सञ्चालन हुने बताइएको छ । महोत्सवको उपराष्ट्रपति रामसहायप्रसाद यादवले उद्घाटन गर्ने कार्यक्रम तय भएको आयोजकले जानकारी दिएको छ ।

महोत्सवमा ५० हजार भन्दा बढीको सहभागिता रहने अपेक्षा गरिएको महोत्सवका संयोजक सोविता सिम्खडाले जानकारी दिएकी छन ।

उनले महोत्सवमा सबै वर्ग, उमेर, समुदाय, जातजाति, धर्म र सांस्कृतिक व्यक्तिलाई सुहाउने विविध कार्यक्रम हुने बताएकी छन ।उक्त महोत्सव सङ्गीत, ध्यान, साधना र अध्ययनको महोत्सव हुने सिम्खडाको भनाइ छ ।

महोत्सवमा ध्यान, मेडिटेसन, योगा, गायन, नृत्य, लाइभ म्युजिक, लाफिङ मेडिटेसन, प्रत्यक्ष दोहोरी, पुस्तक प्रदर्शन, फुड फेस्टिभल, गजल वाचन र प्रहसनलगायत कार्यक्रम सञ्चालन हुने उनले बताएकी छन ।

महोत्सवको मुख्य कार्यक्रम आज साँझ ५ बजेदेखि सुरु हुने संयोजक सिम्खडाले बताइन् । कार्यक्रममा अन्तर्राष्ट्रिय स्तरका नृत्य, सङ्गीत र हास्य प्रस्तुतिका साथै चर्चित साङ्गीतिक समूह कुटुम्बको विशेष प्रस्तुति हुनेछ ।

साथै हास्य कलाकार मदनकृष्ण श्रेष्ठ, मनोज गजुरेल, जितु नेपाल, प्रदीप खड्का, यमन श्रेष्ठ, प्रदीप रोदनलगायतले प्रस्तुति गर्ने आयोजकले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us