
काठमाण्डु ,२८ चैत -गुण्डा नाइके मिलन गुरुङ उर्फ चक्रे मिलन नेपालगञ्ज गएका बेला उनलाई ‘एके ४७’ हतियारसहित स्कर्टिङ गरिएको भिडियो सार्वजनिक भएपछि एक जना पक्राउ परेका छन् ।
चक्रे मिलन समूहका गणेशबहादुर बोगटीलाई सोमबार राति पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका एसपी सन्तोषसिंह राठौरले जानकारी दिए। राठौरका अनुसार उनको साथमा रहेको घातक हतियार समेत बरामद गरिएको छ ।
प्रहरीका अनुसार उनले जिल्ला प्रशासन कार्यालय, बाँकेबाट लाइसेन्स समेत लिएको पाइएको छ । नेपालगञ्जको सिद्धार्थ होटलमा देखिएका बेला बोगटीले हतियारसहित उनलाई स्कर्टिङ गरेको भिडियो टिकटकमार्फत सार्वजनिक भएको थियो ।
एसपी राठौरका अनुसार उक्त बन्दुक बोगटीकै नाममा लाइसेन्स छ। तर त्यसरी खुला रूपमा प्रदर्शन गर्दै हिँड्न नमिल्ने पनि उनले बताए। ‘प्रारम्भिक रूपमा हेर्दा लाइसेन्स लिएको देखिन्छन। तैपनि त्यसरी खुला रूपमा प्रदर्शन गर्दै हिँड्न मिल्दैन।
उक्त खबर पाएपछि टोली पठाएर पक्राउ गरी ल्याएका हौं,’ उनले भने।उनका अनुसार भिडिओ आइतबारको थियो। बोगटीमाथि कुन मुद्दामा अनुसन्धान अघि बढाउने भन्ने विषयमा प्रमुख जिल्ला अधिकारीसँग छलफल भइरहेको एसपी राठौरले बताए।