
काठमाण्डु,९ चैत– उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले विकास लागि भौतिक पूर्वाधार क्षेत्रमा पर्याप्त लगानी आवश्यक भएको बताएका छन ।
आज (बिहिबार) एशियाली तथा पश्चिम प्रशान्त क्षेत्रका निर्माण व्यवसायीहरूको अन्तर्राष्ट्रिय संगठन इफाप्का र नेपाल निर्माण व्यवसायी महासंघले संयुक्त रुपमा राजधानीमा गरेको अन्तरक्रियामा बोल्दै उनले यस्तो बताएका हुन ।
उपप्रधानमन्त्री श्रेष्ठले नेपालको हकमा पूर्वाधारमा पर्याप्त लगानी नभएको बताएका छन । उनले पर्याप्त लगानी बाहेक निर्माण उद्योगमा गुणस्तरको अभाव तथा समयमा परियोजना नसकिने परिपाटी देखिएको बताएका छन ।
‘पूर्वाधारमा लगानी’ विषयक अन्तरक्रियामा उपप्रधानमन्त्री श्रेष्ठले परम्परागत शैलीमा काम गरेका कारण पनि नेपालको निर्माण उद्योगमा चुनौती थपिएकाले अब नयाँ शैलीमा काम गर्नु पर्ने बताएका छन ।
निर्माणमैत्री ऐन कानून नहुँदा निर्माण उद्योगमा समस्या देखिएको स्विकार गर्दै उनले समय सापेक्ष ऐन कानून बनाउन नेपाल निर्माण व्यवसायी महासंघ जस्ता संस्थाको महत्वपूर्ण भूमिका रहने बताएका छन ।
उनले भौतिक पूर्वाधार तथा यातायातको क्षेत्रमा विकास गर्न आफूले विभिन्न कार्यदल गठन गरी काम थालिसकेको जानकारी गराउँदै आफू सबैसँग सहकार्य गर्न तयार रहेको बताएका छन ।