मेरो तलब काटेर केपी ओलीलाई कोचिङ पढाउनुस्ः मेटमणि

काठमाण्डु टुडे २०७९ माघ ७ गते १५:३६ मा प्रकाशित

काठमाण्डु, ७ माघ– नेकपा एकीकृत समाजवादीका सांसद् मेटमणि चौधरीले एमाले अध्यक्ष केपी ओली संविधान च्यात्न ढुकेर बसेको आरोप लगाएका छन् ।

प्रतिनिधिसभाको बैठकमा शनिबार बोल्दै चौधरीले ओलीले मौका पाए जतिसुकै बेला संविधान च्यात्ने टिप्पणी गरे । ओली संविधान मास्न बाघले मान्छे शिकार गर्न झम्टिए झैं, बकुल्लाले माछा र बिरालोले दूध ढुके झैं गरिरेहको बताए । ‘आज पनि बाघले मान्छेको शिकार गर्न झम्टिएझैँ, बकुल्लाले माछा, बिरालोले दुध ढुकेझैँ अहिले नेपालको संवैधानिक व्यवस्था च्यात्न, ध्वस्त गर्न नेपालका पूर्वप्रधानमन्त्री नाम सबैलाई थाहै छ । उहाँ ढुकेर बसिरहनुभएको छ’ चौधरीले भने, ‘यस्ता व्यक्ति संसदमा जबर्जस्ती भयो भने नेपालको संविधान च्यातिन सक्छ । कानूनी राज्य समाप्त हुनसक्छ ।’

ओलीप्रति लक्षित गर्दै उनले सिस्टम मिलाएर अर्बौं भ्रष्टाचार गर्ने, राष्ट्रपतिसँग सेटिङ मिलाएर आफूलाई मन लागेको कानून ल्याउने काम भइरहेको टिप्पणी गरे । उनले आफ्ना गलत कामलाई जनादेशअनुसार अनुसार भन्दै व्याख्या भइरहेको बताए । ‘आज हामीले लाख, करोड, अर्बका भ्रष्टाचारहरु सिस्टम मिलाएर गरिरहेका छौँ । यो कुरामा स्वयं प्रधानमन्त्रीहरुले नै देशको ढाकछोप गरिरहेको घटनाहरु धेरै छ । प्रधानमन्त्री, सम्बन्धित व्यक्तिहरु धेरै छन् । आफूलाई मन लागेको कानून मन लागेको दिनमा राष्ट्रपतिसँग सेटिङ मिलाएर गरिरहेका छौँ । यसलाई ताजा जनादेशको रुपमा डिफाइन्स समेत गरिरको छौँ । यसलाई सत्य सावित गर्न झुटको खेती गरिरहेका छौँ । तर्क गरिरहेका छौँ’, पूर्वमन्त्रीसमेत रहेका चौधरीले भने ।

चौधरीले त्यस्ता व्यक्तिहरुलाई संसदमा कोचिङ कक्षाको व्यवस्था मिलाउन आग्रह गरे । त्यसका लागि रकम नभए आफूले सांसदबापत पाउने तलबबाटै कटाएर भए पनि कक्षा सञ्चालन गर्न भने । ‘प्रतिनिधिसभामा कोचिङ क्लासको लागि बजेटको व्यवस्था छैन होला’ उनले भने, ‘छैन भने मैले प्राप्त गर्ने सेवासुविधाबाट काटिने गरेर उनीहरुलाई कक्षामा राखेर पढान अनुरोध गर्दछु ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us