
काठमाण्डु,१९ मंसिर– गत बिहीबार भएको सवारी दुर्घटनामा घाइते भएका बारा जीतपुरसिमरा उपमहानगरपालिका–५ का ३५ वर्षीय विजयी माझीको उपचारका क्रममा सोही दिन मृत्यु भएको थियो ।
उपचारमा लागेको खर्च तिर्न नसकेका कारण चार दिनदेखि उनको शव वीरगन्जस्थित अस्पतालमै थियो । चन्दा संकलन गरेर स्थानीयले आज शवको पोस्टमार्टम गरी सडकमै शव राखेर प्रदर्शन गरेका छन् ।
स्थानीय र माझीका आफन्तहरूले जीतपुरसिमराको सडकमा अवरोध गर्दै प्रदर्शन गरेका हुन्। सो क्रममा उनीहरूले ठक्कर दिने सवारीसाधन प्रहरीले नखोजेको बताएका छन ।
माझीको मृत्यु सोही दिन साँझ पाँच बजेतिर न्युरो अस्पताल वीरगन्जमा भएको थियो । पथलैया–निजगढ सडक खण्डमा दाउरा लिएर आउने क्रममा सेतो रंगको सवारी साधनले साइकलमा सवार माझीलाई ठक्कर दिँएको थियो । ठक्कर दिने सवारी साधनको पहिचान हुन भने सकेको छैन ।
पूर्ववडा अध्यक्ष मोहित चौधरीका अनुसार मृतक माझीका चार छोरा छोरी छन् । दुर्घटना भएको चार दिनसम्म पनि प्रहरीले फरार गाडी फेला नपारेपछि बाध्य भएर शव सडकमै ल्याएर आन्दोलन गर्नु परेको उनले बताएका छन ।