प्रचण्ड र सिके राउतबीच पहिलो भेट, एकअर्काको खुलेर प्रशंसा

काठमाण्डु टुडे २०७९ मंसिर १५ गते २१:४३ मा प्रकाशित

काठमाण्डु, १५ मंसिर–माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनमत पार्टीका अध्यक्ष सिके राउतबीच भेटवार्ता भएको छ ।
प्रचण्ड भेट्न राउत बिहीबार उनकै निवास खुमलटार पुगेका थिए ।

प्रचण्ड–राउतबीच पहिलोपटक भेटघाट भएको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । राउतले प्रचण्डलाई ‘तपाईंकै प्रेरणाले म राजनीतिमा आएको हुँ’, भनेका थिए ।

त्यस क्रममा राउतले जनयुद्धमार्फत समाजमा समानता कायम गर्न र सामाजिक जागरण ल्याउन भूमिका खेलेको भन्दै प्रचण्डको प्रशंसा गरे । प्रचण्डले पनि राउतको वौद्धिकताको प्रशंसा गरेका थिए । उनले केपी ओलीसँग नजिक रहेको बुझेको भन्दै आफूकहाँ आएर राम्रो गरेको बताए ।

राउतलाई उनले देश विखण्डनको नारामा भने आफ्नो असहमति रहेको भन्दै नेपालको सार्वभौमिकता र सार्वभौमसत्तामा सम्झौता गर्न नसकिने स्पष्ट गरे । ‘तपाईंको मुलुक विखण्डनको एजेण्डा ठीक थिएन’, प्रचण्डको भनाइ उद्धृत गर्दै श्रोतले भन्यो, ‘मुलधारको राजनीतिमा आउनु चाहिं राम्रो कुरा हो ।’ राउतले आफू मुलुक विखण्डनको मागमा नरहेको स्पष्ट गरे । राउतले प्रचण्डलाई आफू सरकारमा सहभागी हुने पनि बताए । त्यसअघि राउतले बिहीबारै बालुवाटार पुगेर प्रधानमन्त्रीसमेत रहेका काँग्रेस सभापति शेरबहादुर देउवालाई भेटेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us