लिपुलेक र लिम्पियाधुरा नेपाली भूमि होः देउवा

काठमाण्डु टुडे २०७९ जेठ १४ गते १९:२५ मा प्रकाशित

काठमाण्डु, १४ जेठ– प्रधानमन्त्री शेरबहादुर देउवाले लिपुलेक र लिम्पियाधुरा नेपालको भूमि भएको बताएका छन् ।

सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा शनिबार प्रतिनिधिसभा बैठकमा देउवाले नेपाली भूमि रक्षाका लागि सरकार प्रतिबद्ध रहेको बताए ।

भूमि र सीमाको विषय संवेदनशील भन्दै उनले त्यसको समाधान वार्ता र कूटनीतिक माध्यमबाट खोज्नुपर्ने मान्यतामा सरकार रहेको उल्लेख गरे । सरकारले भूमि समस्या समाधानका लागि प्रयास जारी राखेको उनको भनाइ थियो ।

नेपाल असंलग्न परराष्ट्र नीतिमा प्रतिबद्ध रहेको र सरकारले देशको हितलाई ध्यानमा राखी पारस्परिक लाभ र सार्वभौमिकताका आधारमा छिमेकी र अन्य मुलुकसँग कूटनीतिक सम्बन्ध राख्दै आएको दाबी गरे ।

फरक प्रसंगमा उनले नेपाल एक चीन नीतिमा रहेको प्रष्ट पारे । उनले बीआरआई परियोजना अघि बढाउन पनि तत्पर रहेको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us