काठमाण्डु, ६ फागुन– प्रहरी प्रधान कार्यालयले विभिन्न तहमा ठूलो संख्यामा प्रहरी भर्नाका लागि गरेको विज्ञापन रोक्न माग गर्दै मधेस सरकार सर्वोच्च अदालत पुगेको छ ।
प्रहरी भर्ना प्रक्रिया रोक्न आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरतप्रसाद साहले सर्वोच्चमा रिट दायर गरेका हुन् । रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयलाई विपक्षी बनाइएको छ ।
महोत्तरीको पिपरा गाउँपालिका बस्ने अमृतकुमार मिश्रलाई वारेस बनाई मन्त्री साहले फागुन ४ मा दायर गरेको रिटमा मुद्दाको अन्तिम टुंगो नलाग्दासम्म रिटसँग सम्बन्धित अन्य कुनै कामकारबाही अगाडि नबढाउन अन्तरिम आदेशको माग गरेका छन् । मुद्दाको पेसी फागुन १० गतेका लागि तोकिएको छ ।