
काठमाण्डु, २७ मंसिर– नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत केन्द्रीय पदाधिकारी र सदस्यका लागि मतदान सुरु भएको छ । बिहान ८ बजेदेखि सुरु हुने भनिएको मतदान साढे ३ घण्टा ढिला गरी सुरु भएको हो ।
पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार १३४ पदका लागि ४८७ उम्मेदवार प्रतिस्पर्धामा छन् । कांग्रेस विधानअनुसार १६७ कार्यसमिति मध्ये १३४ पदमा निर्वाचन हुने र बाँकी ३३ सदस्य केन्द्रीय सभापतिबाट मनोनीत हुने व्यवस्था छ । आइतबार अपराह्न उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको समितिले रातभरि मतपत्र छपाईलगायतका काम गरेको थियो ।
महाधिवेशनस्थलको राष्ट्रियसभागृहमा पार्टी केन्द्रीय कार्यसमिति, जनसम्पर्क समिति, भ्रातृ– शुभेच्छुक सङ्घसंस्था, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका महाधिवेशन प्रतिनिधिका लागि मतदान गर्ने व्यवस्था तोकिएको छ । यसैगरी भृकुटीमण्डपको प्राङ्गणमा प्रदेश नं २ र गण्डकी प्रदेशका मतदाताका लागि मतदान गर्ने व्यवस्था गरिएको छ । भृकुटीमण्डपको हलमा भने प्रदेश नं १, वाग्मती र सुदूरपश्चिम प्रदेशका महाधिवेशन प्रतिनिधिका लागि मतदान गर्ने व्यवस्था मिलाइएको छ ।