सबै एकातिर हामी अर्कोतिर, कांग्रेसलाई आईसोलेसनमा पुर्‍याउने कुरा नगरौँः रामचन्द्र पौडेल

काठमाण्डु टुडे २०७८ मंसिर १६ गते १७:५९ मा प्रकाशित

काठमाण्डु, १६ मंसिर– पाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आगामी निर्वाचनमा गठबन्धनको संकेत गरेका छन् ।

पोखरामा गण्डकी प्रदेश अधिवेशनको उद्घाटनलाई सम्बोधन गर्दै उनले भने– ‘कम्युनिष्ट पार्टीमा एकथरी पृथक अस्थित्व बनाएर बसेका छन् । केपी ओलीहरू एकातिर छन् । परिस्थितिले उनीहरू फेरि एकैतिर खनिने अवस्था भए कस्तो होला ? अहिले मैले सम्झाउन जरुरी छ । हामी एकोरिँदै गयौं भने गएकै चुनावको ठाउँमा पुगौँला,’ पौडेलले भने, ‘गएको चुनावमा के भयो ? सबै एकातिर हामी अर्कोतिर । परिणाम के भयो ? अहिलेको अहिले नै बिर्सने ?’

उनले कसैले एकल बहुमत ल्याउन नसक्ने बताए । ‘अहिले जे संविधान बनाएका छौं, यो संविधानले समावेशी व्यवस्था ल्याएका छौँ । सितिमिती कुनै पार्टीको एब्सुलुट मेजोरिटी आउँदैन । पूरा बहुमत ल्याएर कसैले सरकार चलाउन धेरै कठिन छ । अरूसँग नमिलिकन सम्भव छैन,’ उनी अघि भन्छन्, ‘जसरी शेरबहादुरजी अहिले प्रधानमन्त्री बन्नुभएको छ, उहाँ एक्लै कांग्रेसको मात्र हो र ? यो कुरालाई ध्यान दिनुहोस् । भोलिको चुनावमा पनि कांग्रेसलाई एक्ल्याउने कुरा नगरम । कांग्रेसलाई आईसोलेसनमा पुर्‍याउने कुरा नगरौँ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us