
काठमाण्डु, ८ मंसिर– नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तीनै तहको निर्वाचन एकैपटक गर्ने विषयमा प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा सकारात्मक भएको बताएका छन् ।
बुधबार धनगढी विमानस्थलमा पत्रकारसँग कुरा गर्दै प्रचण्डले तीनै तहको निर्वाचन एकैपटक गर्नुपर्ने आवाज बलियो रुपमा उठ्न थालेपछि प्रधानमन्त्री देउवासँग छलफल गरिएको बताएका हुन् ।
‘प्रधानमन्त्रीज्यू पनि त्यस विषयमा सकारात्मक हुनुहुन्छ,’ अध्यक्ष प्रचण्डले भने,‘सबै तहसँग छलफल गरेर उपयुक्त निष्कर्षमा पुगिने छ,’ उनले भने । पटकपटक चुनाव गर्दा राज्यलाई खर्च भार पनि बढी हुने र जनतालाई पनि दिक्क लाग्ने हुँदा सबै चुनाव एकैपटक गर्नुपर्ने माग आउन थालेको उनले बताए ।
प्रचण्डले सर्वोच्च अदालनमा देखिएको समस्या छिट्टै समाधान हुने समेत बताए ।