नेपालमा २८.२ प्रतिशतले लगाए कोरोना खोप

काठमाण्डु टुडे २०७८ कार्तिक ४ गते ८:१६ मा प्रकाशित

काठमाण्डु, ४ कात्तिक– नेपालमा हालसम्म कुल जनसंख्याको २८.२ प्रतिशत जनसंख्याले कोभिड–१९ विरुद्धको पहिलो मात्रा खोप लिइसकेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल जनसंख्या ३ करोड ३ लाख ७८ हजार ५५ जना रहेकोमा हालसम्म ८५ लाख ६२ हजार ३ सय ६५ जनाले पहिलो मात्रा खोप लगाइसकेका छन् भने ६४ लाख ८५ हजार ९ सय २३ जनाले पूर्ण मात्रा खोप लिइसकेका छन्।

१८ वर्षमाथिका ४३ प्रतिशतले पहिलो मात्रा र ३२.६ प्रतिशतले पूर्ण मात्रा खोप लिइसकेका छन् । १ करोड ९९ लाख २२ हजार १ सय ६४ जना १८ वर्ष माथिका खोप लिने लक्षित जनसंख्या छ।

त्यसैगरी १५ वर्षमाथिका ३९.४ प्रतिशतले पहिलो मात्रा र २९.८ प्रतिशतले पूर्ण मात्रा खोप लिएको तथ्यांक छ। सरकारले असोजभित्रै कुल जसनंख्याको ३३ प्रतिशत जनसंख्यालाई खोप दिने घोषणा गरे पनि प्राविधिक कारणले ३३ प्रतिशत पुग्न नसकेको परिवार कल्याण महाशाखाका प्रमुख डा। विवेककुमार लालले बताए ।

 विश्व स्वास्थ्य संगठनले १८ वर्षमुनिका जनसंख्याका लागि कोभिड–१९ विरुद्धको खोपको अनुमति नदिएकाले खोप भएर पनि लगाउन नसकिने स्थिति भएकाले कुल जनसंख्याको ३३ प्रतिशत पुग्न नसकेको उनको भनाइ छ । ‘खोप भए पनि विश्व स्वास्थ्य संगठनले १८ वर्ष मुनिका र १२ वर्षमुनिको जनसंख्यालाई अनुमति दिइसकेको अवस्था थिएन,’ प्रमुख डा. लालले भने । तर, १८ वर्षमाथिको जनसंख्यामा भने खोप लिनेको संख्या ३३ प्रतिशत पुगिसकेको उनले बताए। तथ्यांकअनुसार १८ वर्षमाथिका ३२.६ प्रतिशतले दुवै डोज खोप लिइसकेका छन् ।

यसैबीच भेरोसेल खोपको पहिलो मात्रा लिएकाहरूका लागि कात्तिक ४ गते बिहीबारदेखि देशभरि दोस्रो मात्रा दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालभरका मुख्य २४ वटा सरकारी अस्पतालबाट सो खोप दिइने तयारी भएको परिवार कल्याण महाशाखा खोप शाखा प्रमुख सागर दाहालले बताए। यो नागरिक दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us