‘सुनसरी घटनाको सत्यतथ्य बाहिर ल्याउन सरकार प्रतिबद्ध छ’

काठमाण्डु टुडे २०७८ असोज ३१ गते १७:५३ मा प्रकाशित

काठमाण्डु, ३१ असोज– सरकारले सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाका मोहम्मद हकिम साहको जिल्ला प्रहरी कार्यालय सुनसरीको बन्दीगृहमा भएको मृत्यु प्रकरणबारे सत्यतथ्य बाहिर ल्याउने प्रतिबद्धता जनाएको छ ।

गृह मन्त्रालयमा आज मुस्लिम समुदायसँगसम्बन्धित संघ-संस्थाका प्रतिनिधिले बुझाएको ज्ञापनपत्र बुझ्दै मन्त्री बालकृष्ण खाँणले नागरिकको जीवनरक्षा गर्नु सरकारको पहिलो काम रहेको बताए । उनले सामाजिक सद्भाव कायम गरी सत्यतथ्य बाहिर ल्याउन सरकार र आफू संवेदशील रहेको बताए ।

सबै नागरिक आफ्नो धर्म संस्कृति अवलम्बन गर्न स्वतन्त्र रहेको उल्लेख गर्दै उनले सरकारको पहिलो दायित्व नागरिकको जीवनरक्षा भएको त्यसमा आफू प्रतिबद्ध रहेको बताए ।

ज्ञापनपत्रमा सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठित छानबिन समितिलाई भंग गरी उच्च अदालतका न्यायाधीशको संयोजकत्वमा मानवअधिकारकर्मीसहितका विज्ञ टोली गठन गर्न माग गरिएको छ । मन्त्री खाँणले स्थानीयले विश्वास गर्नेगरी अहिलेको छानबिन समितिका सदस्यलाई फेरबदल गर्ने विषयमा कुराकानी भएको जानकारी दिए ।

मन्त्रालयमा ज्ञापनपत्र बुझाउन इस्लामी संघका अध्यक्ष खुर्सिद आलम, नेपाल मुस्लिम संघका महासचिव रहमतुल्ला मियाँ, राष्ट्रिय मानवअधिकार आयोगका पूर्वसदस्य मोहना अन्सारीसहित ११ जना प्रतिनिधिको टोली सहभागी थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us