चितवन, २२ भदौ– कार्यालय समय अगावै यहाँस्थित भरतपुर अस्पताल अगाडिका सडक पार गर्न मुस्किल पर्दछ । सडकका दायाँबायाँ सवारीसाधनले भरिएका हुन्छन् । बिरामीलाई मात्र होइन, सर्वसाधारणलाई सडक पार गर्न कठिन हुन्छ । ट्राफिक प्रहरीलाई दैनिक बिहानी समयमा सवारीका साधनलाई व्यवस्थित गर्न हम्मेहम्मे पर्छ । अस्पताल नजिकै बाइपास सडक पर्दछ । सडकमा भीडभाड बढी हुने भएपछि त्यति बेलाका समयमा सकेसम्म मानिसले वैकल्पिक सडक प्रयोग गर्ने गर्दछन् ।
अस्पतालका चिकित्सक, कर्मचारीको मात्र एक सय भन्दा बढी चारपाङ्ग्रे सवारी रहेका बताइएको छ । अस्पतालमा ७५० कर्मचारी कार्यरत छन् । अस्पतालले दैनिक एक हजार ९०० जनासम्म बिरामीलाई सेवा प्रदान गर्ने जनाइएको छ । अस्पतालमा चिकित्सक र कर्मचारी सरह नै सवारीसाधन आउने गर्दछन् । अस्पतालमा एम्बुलेन्स आवतजावत गर्ने गर्दछ । ती सवारीका लागि पार्किङको व्यवस्था पूर्ण हुन नसकेको स्वीकार गर्दै अध्यक्ष डा अधिकारीले यस विषयमा छलफलमानै रहेको बताए ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका निमित्त प्रमुख प्रहरी नायब निरीक्षक ज्ञानबहादुर बराकोटी अस्पताल अगाडिको पार्किङ व्यवस्थापन समस्या हुने गरेको बताउँछन् । उनले भने, “कहिलेकाहीँ त व्यवस्थापन गर्न नै मुस्किल पर्दछ ।” प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले सो बाटो प्रयोग गरेर जाँदा आफूले पनि अव्यवस्थित पार्किङ देखेर ट्राफिक प्रहरीलाई भनेको जानकारी दिए । अस्पतालले ठाउँ व्यवस्थापन गरेर आफ्ना चिकित्सक, कर्मचारी र सेवाग्राहीलाई पार्किङ व्यवस्थापन गर्नुपर्ने उनको भनाइ छ ।