काठमाण्डु, ३२ साउन– देशका प्रमुख चार पर्यटकीय गन्तव्य काठमाडौँ, पोखरा, चितवन र लुम्बिनी हवाई उडानमार्फत जोडिएका छन् । चारै गन्तव्यमा बुद्ध एयरले हवाई सेवा सञ्चालन गरेसँगै यी महत्वपूर्ण गन्तव्य हवाई सेवामार्फत जोडिएका हुन् । भरतपुर–भैरहवा उडान शुरु भएसँगै चार गन्तव्य जोडिएका हुन् । बुद्ध एयरले आइतबारदेखि भरतपुर–भैरहवा उडान थालेको हो ।
क्षेत्रीय होटल सङ्घका निवर्तमान अध्यक्ष सुमन घिमिरे भारतीय पर्यटक नेपाल आउन भैरहवा–भरतपुर उडान प्रभावकारी हुने बताउँछन् । देशका चार प्रमुख पर्यटकीय गन्तव्य उडानमार्फत जोडिँदै गर्दा पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने उनको भनाइ छ । लुम्बिनीमा ठूलो सङ्ख्यामा पर्यटक आएर त्यहीँबाट भारततर्फ फर्कने गरेको भन्दै उनले ती पर्यटकलाई चितवनसहितका गन्तव्यमा ल्याउन उडान महत्वपूर्ण हुने बताए । सडकको यात्रा गर्नु नपरेपछि छोटो समयमा धेरै ठाउँ घुम्न पाउने घिमिरेले बताए ।
चितवन जङ्गल सफारीका लागि देशकै पहिलो गन्तव्य हो । यहाँको चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती वनमा जङ्गल सफारी गर्न पर्यटक आउने गर्दछन् । एक सिङ्गे गैँडा, पाटेबाघ, घडियाल गोही, चराचुरुङ्गी पर्यटकको रोजाइमा पर्ने गर्दछन् ।