सरकारद्वारा वरिष्ठ प्रहरी अधिकृतको व्यापक सरुवा

काठमाण्डु टुडे २०७८ असार ७ गते २१:४८ मा प्रकाशित

काठमाण्डु, ७ असार– मध्यावधि निर्वाचन घोषणा गरेको सरकारले प्रहरी अधिकारीहरुको व्यापक सरुवा गरेको छ ।

नवनियुक्त गृहमन्त्री खजराज अधिकारीले प्रहरी अधिकारीहरुको सरुवा गरेका हुन् । मन्त्री स्तरीय निर्णयबाट १६ प्रहरी नायब महानिरीक्षक (डीआईजी) र १५ वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) को जिम्मेवारी हेरफेर भएको छ ।सातवटै प्रदेश प्रहरी कार्यालयका प्रहरी प्रमुख पनि फेरिएका छन् ।

अख्तियारका डीआईजी अरुणकुमार बीसीले प्रदेश–१ प्रहरी कार्यालय प्रमुखको जिम्मेवारी पाएका छन् । यस्तै प्रदेश–२ प्रहरी प्रमुखमा उमेश रञ्जितकार, बागमतीमा प्रकाशजंग कार्की, गण्डकीमा दिवेश लोहनी, लुम्बिनीमा मुकुन्द आचार्य, कर्णालीमा गणेशबहादुर ऐर र सुदूरपश्चिममा पुरुषोत्तम कँडेल तोकिएका छन् ।

रञ्जितकार काठमाण्डु उपत्यका प्रहरी कार्यालय रानीपोखरी, कार्की प्रहरी प्रधान कार्यालयको विशेष ब्युरो, लोहनी प्रहरी प्रधान कार्यालय कार्य एवं अपराध अनुसन्धान विभाग निर्देशनालय, आचार्य प्रहरी प्रधान कार्यालय अन्वेषण, योजना तथा विकास निर्देशनालय, ऐर प्रधान कार्यालयको प्रदेश समन्वय निर्देशनालय र कँडेल मानवश्रोत एवं प्रशासन विभाग आर्थिक प्रशासन तथा प्रबन्ध निर्देशनालयमा कार्यरत थिए ।

यस्तै केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को जिम्मेवारी धिरजप्रताप सिंहले पाएका छन् । सिंह यसअघि प्रदेश–२ प्रहरी कार्यालय प्रमुख थिए । सीआईबीका सहकुल थापा प्रहरी प्रधानअन्तर्गत प्रदेश समन्वय निर्देशनालयमा आएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us