माओवादी नेताकी श्रीमतीद्वारा ब्याई फ्रेण्डसँग मिलेर श्रीमानको हत्या

काठमाण्डु टुडे २०७८ जेठ ३१ गते २२:२४ मा प्रकाशित

काठमाण्डु, ३१ जेठ– माओवादी केन्द्र कपिलवस्तुका नेता दीपक पाण्डेको हत्यामा उनकै श्रीमती महिमा पाण्डे संलग्न रहेको खुलासा भएको छ ।

प्रहरीले झण्डै एक महिना लामो अनुसन्धानपछि हत्यामा श्रीमती पाण्डे संलग्न रहेको निस्कर्ष निकालेको हो । प्रहरीले पाण्डे पत्नी महिमासहित हत्यामा संलग्न ११ जनालाई पक्राउ गरेको छ । नेता पाण्डेको गत ५ जेठको राति तीन जनाको समूहमा मोटरसाइकलमा आएका अपरिचितले गोली हानी भागेका थिए ।

टाउको र पेटमा गोली लागेका पाण्डेको उपचारका क्रममा १० जेठमा काठमाण्डुको त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको थियो । कपिलवस्तु प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवराज अधिकारीले हत्याको प्रमुख योजनाकार पाण्डे पत्नी र उनका केटा साथी कपिलवस्तु नगरपालिका–१ आनन्दवागका ३९ वर्षीय ओमप्रकाश यादव मुख्य योजनाकार रहेको अनुसन्धानबाट खुल्न आएको जानकारी दिए ।

महिमा र ओमप्रकाशबीचको अनैतिक सम्बन्धबारे पाण्डेले थाहा पाएपछि दुई जना मिलेर हत्याको योजना बनाएको प्रहरीले जनाएको छ । उनीहरुबीच विगत पाँच वर्षदेखि अवैध सम्बन्ध रहेको खुलेको छ । अनैतिक सम्बन्धबारे श्रीमानले थाहा पाएपछि महिमाले पटकपटक उनको हत्या गर्न ओमप्रकाशलाई दबाब दिएकी थिइन् ।

पछिल्लो तीन वर्षको बीचमा पाण्डेको हत्याका लागि ओमप्रकाश र महिमाले विभिन्न व्यक्तिलाई सुपारी पनि दिएका थिए । तर, विविध कारणले हत्या योजना सफल हुन नसेकको उनीहरुले बयानका क्रममा बताएका छन् ।

 

पक्राउ पर्नेमा महिमा र ओमप्रकाशसहित गोली प्रहारमा संलग्न रमजान साह मुसलमान, साकिर अली छन् । यस्तै उनीहरुलाई हतियार उपलब्ध गराउन सघाएको आरोपमा पूर्णवीर पाल्पाली, सद्दाम हुसेन खान, ज्ञानेन्द्रकुमार पाण्डेय, राधेश्याम चौधरी, श्रीराम कुर्मी, नसरत अली र प्रवीण गुप्तालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us