ओलीलाई जसरी पनि हटाउने हो, हटाउने होः देउवा

काठमाण्डु टुडे २०७८ वैशाख २५ गते १९:४७ मा प्रकाशित

काठमाण्डु, २५ वैशाख– काँग्रेस सभापति शेरबहादुर देउवाले केपी ओलीलाई जसरी पनि पदच्युत गरेरै छाड्ने बताएका छन् ।

नयाँबानेश्वरिस्थित संसद भवनको ल्होत्से हलमा शनिबार बसेको काँग्रेस संसदीय दल बैठकमा सांसदहरुलाई सम्बोधन गर्दै देउवाले प्रधानमन्त्रीले विश्वासको मत मागे पनि आफूहरुले नदिने बताए ।

सांसदहरुलाई विश्वासको प्रस्तावको विपक्षमा उभिन देउवाको निर्देशन थियो । देउवाले ओलीविरुद्ध अविश्वास प्रस्ताव दर्ताबारे छलफल भइरहेको भन्दै संसद अधिवेशन बोलाइसकेको अवस्थामा अविश्वास प्रस्ताव दर्ता गर्दा के हुन्छ भन्ने संवैधानिक पक्षबारे विज्ञहरुसँग परामर्श गरिरहेको बताए ।

ओलीले संसदमा विश्वासको मत लिन चाहेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले २७ वैशाखमा संसदको विशेष अधिवेशन आह्वान गरेकी छन् ।

‘अविश्वास प्रस्ताव दर्ता गर्ने कि नगर्ने भन्नेबारे अरु दलहरुसँग पनि छलफल भइरहेको छ’, देउवाले भने, ‘ओली कुनै हालतमा प्रधानमन्त्री रहँदैनन् । उनलाई जसरी पनि हटाउने हो, हटाउने हो ।’ एक सांसदका अनुसार देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिका गलत रहेको आरोप लगाए । उनले ओलीका असंवैधानिक कदममा साथ दिएको भन्दै राष्ट्रपतिले मुलुकको भन्दा एउटा गुटको हित हेरेको टिप्पणी गरे ।

राष्ट्रपति कुनै दल फुटाउने र जुटाउने काममा लागेको भन्दै देउवाले भण्डारीले राष्ट्र प्रमुखको भूमिका निर्वाह गर्न नसकेको बताए । संसदीय दल बैठकले ओलीको विपक्षमा मतदान गर्नुका साथै आफ्नै नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेको छ । काँग्रेसले संसदमा प्रतिनिधित्व गर्ने अरु दललाई पनि ओलीलाई विश्वासको मत नदिन अपिल गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us