ओलीले विश्वासको मत लिनु चार दिनअघि काठमाण्डु उत्रिए ‘रअ’ प्रमुख

काठमाण्डु टुडे २०७८ वैशाख २४ गते २१:४० मा प्रकाशित

काठमाण्डु, २४ वैशाख–भारतीय गुप्तचर संस्था ‘रअ’ का नेपाल प्रमुख राघवप्रसाद भट्नागर काठमाण्डु आइपुगेका छन् ।

प्रधानमन्त्री केपी ओलीले संसदमा विश्वासको मत लिनुभन्दा चार दिनअघि भएको रअ प्रमुखको आगमनलाई चासोका साथ हेरिएको छ । यसअघिका अभिजित अल्दर कार्यकाल सकाएर नयाँदिल्ली फर्किएपछि रअले भट्नागरलाई पठाएको हो । ‘रअ’ ले नेपालको आन्तरिक राजनीतिमा खुलमखुला चलखेल गर्दै आएको छ ।

३ असोज २०७२ मा संविधान जारी भएपछि केही वर्ष नेपाली राजनीतिमा ‘रअ’ को देखिने गरी उपस्थिति भएको थिएन । गत माघमा ‘रअ’ प्रमुख समान्तकुमार गोयलको विवादास्पद भ्रमणपछि भने नेपालको रानजीतिमा पुनः ‘रअ’ को इन्ट्री भएको छ ।

गोयलले प्रधानमन्त्री केपी ओलीलाई मध्यरातमा बालुवाटारमा भेटेर फर्किएको केही समयपछि संसद विघटन भएको थियो । गोयल भ्रमणपछि भारतीय सेनाध्यक्ष एमएम नरवणे, विदेश सचिव हर्षवर्द्धन श्रृंगलाले नेपाल भ्रमण गरेका थिए । भारतीय अधिकारीहरुको एकपछि अर्को भ्रमण र भेटघाट रहस्यमय र अपारदर्शी भएको भन्दै प्रधानमन्त्री ओलीको दल तत्कालीन नेकपाभित्रै चर्को विरोध भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us