
काठमाण्डु,२३ वैशाख– गृहमन्त्री एवं एमाले ओली समूहका नेता रामबहादुर थापा बादल राष्ट्रियसभा निर्वाचन लड्न डराएका छन् ।
ओली समूहले बादललाई राष्ट्रियसभा उम्मेदवार बनाउने अनौपचारिक निर्णय यसअघि नै गरिसकेको छ । काँग्रेस, माओवादी केन्द्र र एमालेको माधव नेपाल समूहले संघीयताविद् डा. खिमलाल देवकोटालाई साझा उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । ६ जेठमा निर्धारित निर्वाचनका लागि २४ वैशाखमा उम्मेदवारी दर्ता गर्नुपर्छ ।
तर, विपक्षमा बलियो गठबन्धन बनेका करण बादल देवकोटासँग चुनाव लड्न हच्किएका छन् । देवकोटा माधव नेपालनिकट मानिन्छन् । यसअघि माओवादीबाट निर्वाचित बादल एमाले प्रवेश गरेसँगै उक्त सिट खाली भएको हो । ओलीले १० वैशाखको आफू पक्षधर केन्द्रीय समिति बैठकबाटै बादलको उम्मेदवारी घोषणा गरेका थिए ।
बिहीबार बसेको ओली पक्षीय स्थायी समिति बैठकले बागमती प्रदेशको राष्ट्रियसभा सदस्य उम्मेदवार तय गर्ने भनिए पनि निर्णय भने भएन । प्रदेश–३ मा एमाले एक्लैको ५ हजार ३ सय १० मतभार छ । गठबन्धन गरेका काँग्रेस, माओवादी र उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीको ३ हजार ९ सय ७८ मतभार छ ।
एमालेको माधव नेपाल समूह पक्षधरले संयुक्त गठबन्धनका साझा उम्मेदवारका रुपमा देवकोटालाई उठाएकाले बादल उम्मेदवार भएको अवस्थामा मत नदिने निश्चित छ । मतदानमा बागमती प्रदेशका १ सय १० प्रदेश सांसद र स्थानीय तहका १ सय १९ स्थानीय तहका प्रमुख÷उपप्रमुख (२ सयय ३८) गरी कूल ३ सय ४८ मतदाता छन् ।
प्रदेशसभाका एक सदस्य बराबर ४८ र स्थानीय तहका प्रमुख÷उपप्रमुखको १८ मत भार हुन्छ ।