नोबेल अस्पतालमा शिशुको शव जिम्मा नलिई आन्दोलन जारी

काठमाण्डु टुडे २०७७ चैत ३१ गते १४:३६ मा प्रकाशित

विराटनगर, ३१ चैत– नोबेल मेडिकल कलेजमा प्रसुतिका क्रममा चिकित्सकको लापरवाहीका कारण शिशुको मृत्यु भएको छ ।

शिशुको मृत्यु भएपछि आफन्तले विरोध जनाएका छन् । उनीहरुले ७ दिनदेखि शिशुको शव जिम्मा नलिई आन्दोलन जारी राखेका छन् । इटहरी उपमहानगरपालिका–१ आपँगाछीकी सरिता प्रधानलाई प्रसुति गराउने क्रममा चैत २५ गते चिकित्सकले भ्याकुम प्रयोग गरेको र त्यसले गर्दा शिशुको टाउकोमा प्वाल परेको आफन्तको दावी छ ।

भ्याकुम प्रयोगबाट जन्मिनेवित्तिकै छोरालाई आईसीयूमा राखिएको र तीन घण्टामा मृत्यु भएको जानकारी आफूहरुलाई दिइएको सरिताका श्रीमान मनिषले बताए । शिशुकी आमालाई डिस्चार्ज गरी घर लगिएको छ ।

नोबेल मेडिकल कलेजले भने चिकित्सकको लापरवाही नभएको दाबी गरेको छ । अस्पतालका प्रबन्धक नारायण दाहालले अनुसार प्रसूति गराउदा भ्याकुमको प्रयोग भएपनि चिकित्सकले लापरवाही नगरेको बताए ।

टाउकोमा प्वाल परेको हल्ला पनि गलत भएको उनको दाबी छ । ‘पटक पटक छलफल भएको छ तर उहाँहरु चिकित्सकको कुरा सुन्नु हुन्न,’ उनले भने, ‘क्षतिपूर्ति माग गरिरहनुभएको छ, कारवाहीको माग भए सम्बन्धित निकायमा उजुरी गर्नुहोस् भनेका छौं ।’

भर्खर जन्मिएको बच्चाको टाउको नरम हुने भएकाले सामान्य असर गरेको उनको दाबी छ । आफन्तले शव नबुझेपछि ७ दिनदेखि शिशुको शव अस्पतालमै छ ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us