सभामुख सापकोटालाई सांसद पण्डितको चेतावनी

काठमाण्डु टुडे २०७७ चैत २६ गते १४:४३ मा प्रकाशित

काठमाण्डु, २६ चैत– नेकपा एमालेका सांसद लालबाबु पण्डितले संसदले काम गर्न नसकेमा सभामुखमाथि प्रश्न उठ्ने चेतावनी दिएका छन् ।

प्रतिनिधिसभाको यो विधेयक अधिवेशनमा एउटा पनि विधेयक पारित नभएको भन्दै उनले संसदले काम गर्न नसकेको दोष सरकार नभई सभामुख हुने बताएका हुन् ।

‘संसदले काम गर्न सकेन भन्ने प्रश्न उठ्छ भने, संसदको पदाधिकारी सभामुखमाथि पनि प्रश्न उठ्छ’ उनले भने, ‘सरकारमाथि मात्र प्रश्न उठ्दैन ।’

संसदमा आएका विधेयक र सन्धि सम्झौताहरु अगाडि बढाउन कुन पार्टी र कुन मन्त्रीले रोकेको छ भन्दै सांसद पण्डितले कुनै बाधा अवरोध भए संसदलाई जानकारी गराउन आग्रह गरे ।

‘एकतर्फी रुपमा सरकारले काम दिएन, संसदको काम छैन, जनताका समस्या सरकारले बुझ्न सकेन भन्यो भने के हुन्छ, पूर्वाग्रह भन्दा केही हुँदैन’ उनले भने ।

‘त्यसैले ठोस कदम चाल्न, विधेयक अगाडि बढाउन, सन्धि सम्झौताका प्रस्ताव अगाडि बढाउनका लागि म हार्दिक आग्रह गर्न चाहन्छु’ उनले भने, ‘यसमा सभामुखको विशेष भूमिका चाहन्छु ।’

संसदको अगुवाइ कुशलतापूर्वक भएन भने प्रधानमन्त्री र मन्त्रीलाई दोष लगाएर उम्बिन नमिल्ने सांसद पण्डितले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us