केपी ओलीलाई किन मन पर्दैन संसद् ? हतारमा संसद अधिवेशन अन्त्यको तयारी

काठमाण्डु टुडे २०७७ चैत १५ गते १७:४१ मा प्रकाशित

काठमाण्डु, १५ चैत– प्रतिनिधिसभा विघटन गर्ने आफ्नो कदम सही भएको पुष्टि गर्ने प्रयासमा संसदलाई पंगु बनाउने उद्देश्यले बिजनेश नै नदिएका प्रधानमन्त्री केपी ओलीले हिउँदे अधिवेशन अन्त्यको तयारी गरेका छन् ।

सर्वोच्चले पुर्नस्थापित गरेपछि गत २३ फागुनमा प्रतिनिधिसभाको पहिलो बैठक बसेको थियो । त्यसयता संसदका पाँच बैठक बसेका छन् । तर, दलहरुको विवादका कारण ती सबै बैठक औपचारिकतामै सीमित भएका छन् । संसद छलेर ल्याइएका अध्यादेश जसरी पनि पास गर्न खोज्ने सरकारको प्रयास र त्यसलाई रोक्ने विपक्षीको अडानका कारण संसद प्रभावकारी हुन सकेको छैन ।

संसदको हिउँदे अधिवेशन विधेयक अधिवेशन हो । नयाँ संविधानअनुसार बन्नुपर्ने कयौं विधेयक नबन्दा प्रदेश र स्थानीय निकायले कानून बनाएर लागू गर्न पाएका छैनन् । जसका कारण संविधानले ग्यारेण्टी गरेका नागरिक हक कुण्ठित हुने अवस्थामा छन् । अघिल्लो अधिवेशनमै पेस भएका महत्वपूर्ण मानिएको नागरिकता विधेयकसहित ३६ सरकारी र ५ गैरसरकारी विधेयक संसदमा अड्किएका छन् ।

तीमध्ये कतिपय विधेयक त संसदका विषगत समितिले पारित नै गरिसकेका छन् । तर, सरकार ती विधेयक पास गर्नुको साटो हतारहतार संसद बैठक अन्त्यको तयारीमा लागेको छ । यसअघि प्रतिनिधिसभा विघटित रहेकै अवस्थामा सुरु भएको राष्ट्रियसभा बैठक पनि औपचारिकताका लागि केही दिन बसेर हतारहतार अन्त्य गरिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us