म्यानमारमा प्रहरी द्धारा थप ७ प्रदर्शनकारीको मृत्यु

एजेन्सी २०७७ फागुन २७ गते १५:५१ मा प्रकाशित

काठमाण्डु, २७ फागुन– म्यानमारमा बिहीबार सेनाविरुद्ध भएको प्रदर्शनमा ७ प्रदर्शनकारीको प्रहरीको गोली लागेर मृत्यु भएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले दिएको जानकारीअनुसार बिहीबारको प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाएको हो । केही समयअघि मात्र एम्नेस्टी इन्टरनेशनलले म्यानमारको सेनाले आन्दोलनकारीमाथि ज्यादती गरेको बताएको थियो ।

बिहीबार म्यानमारको मियाइङ सहरमा सुरक्षाकर्मीको गोली लागेर ६ जना प्रदर्शनकारीको मृत्यु भएको हो । अर्का एक प्रदर्शनकारीको मृत्यु भने यान्गोनको नर्थ डागोन जिल्लामा भएको हो । ‘हामीले शान्तिपूर्णरुपमा प्रदर्शन गरिरहेका थियौं’ प्रदर्शनमा सहभागी ३१ वर्षीय एक व्यक्तिले भने । उनले सुरक्षाकर्मीले गोली चलाउला भन्ने नसोचेको उल्लेख गरे ।

यसअघि एसिस्टेन्स एसोसिएसन फर पोलिटिकल प्रिजनर्स एड्भोकेसी ग्रुपले म्यानमारमा सेनाविरुद्धको आन्दोलनमा ६० जनाभन्दा धेरैको मृत्यु भइसकेको र दुई हजारभन्दा धेरै मानिस पक्राउ परेको बताएको थियो ।

एम्नेस्टी इन्टरनेशनलले पनि बिहीबार म्यानमारको सेनाले आवश्यकता नभई प्रदर्शनकारीमाथि ज्यान लिने गरी बल प्रयोग भएको बताएको थियो । साथै आन्दोलनमा अधिकार अवैधरुपमा गोली चलाई प्रदर्शनकारीहरुको हत्या भएको एम्नेस्टी इन्टरनेशनलको हठर छ । यस विषयमा म्यानमारको सेनाले भने कुनै प्रतिक्रिया दिएको छैन ।

फेब्रुअरी १ मा म्यानमारको सेनाले प्रजातन्त्रवादी नेताहरुलाई हिरासतमा लिँदै कू गरेको थियो । त्यसको विरोधमा अहिले निरन्तर म्यानमारमा प्रदर्शन भइरहेको छ । म्यानमारको सेनालाई आफ्नो कदम सच्याउन अन्तर्राष्ट्रिय समुदायले आग्रह गर्दै आएका छन् ।

तर, म्यानमारको सेनाले भने मुलुकमा प्रजातन्त्रको रक्षाको लागि यो कदम चाल्नुपरेको भन्दै आफ्नो बचाउ गर्दै आएको छ । मंगलबार म्यानमारबाट भागेर भारत पुगेका तीन प्रहरीले म्यानमारको सेनाले आफूलाई प्रदर्शनकारीहरुलाई मार्ने आदेश दिएको बताएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us