संसदका महासचिवद्वारा प्रचण्डलाई दल नेता चयन गरिएको पत्र बुझ्न अस्वीकार

काठमाण्डु टुडे २०७७ फागुन २३ गते १४:३४ मा प्रकाशित

तस्वीर सौजन्यः संसद सचिवालय

काठमाण्डु, २३ फागुन– संसदका महासचिव डा. भरत गौतमले नेकपा प्रचण्ड–नेपाल समूहको पत्र बुझ्न अस्वीकार गरेका छन् ।

पुर्नस्थापित संसद् बैठकको पूर्वसन्ध्यामा सो समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनाल महासचिव गौतमको कार्यकक्ष सिंहदरबार पुगेका हुन् ।

नेताहरुले नेकपा संसदीय दलको बहुमतले संसदीय दलको नेताबाट केपी ओलीलाई हटाएर प्रचण्डलाई तोकेकोबारे गौतमलाई औपचारिक पत्र बुझाउन खोजेका थिए । तर, महासचिव गौतमले कानूनी परामर्श गरेर मात्र पत्र बुझ्ने÷नबुझ्नेबारे निर्णय लिने जवाफ दिएका छन् ।

गौतमले पत्र बुझ्न अस्वीकार गरेपछि प्रचण्ड, नेपाल र खनाल गौतमकै कार्यकक्षमा बसिरहेका छन् । उनीहरुले कोसँग कानूनी परामर्श गर्ने हो उनलाई बोलाएर आफूहरुकै अगाडि कुरा गर्न भनिरहेको संसद सचिवालय श्रोतले जनाएको छ । प्रचण्ड–नेपाल पक्षले ओलीलाई संसदीय दलको नेतासहित पार्टीका सबै जिम्मेवारीबाट हटाएको बताएको छ । यस्तै ओली समूहले देव गुरुङलाई हटाएर खोटाङका सांसद विशाल भट्टराईलाई प्रमुख सचेतकको जिम्मेवारी तोकेको छ ।

तर,औपचारिक रुपमा नेकपा विभाजन नभएका कारण कुन समूहको निर्णयलाई वैधाता दिने भन्नेमा संसद सचिवालय अल्मलिएको छ ।

प्रचण्ड र नेपालले यसअघि आइतबारै सभामुख अग्नि सापकोटालाई उनकै कार्यकक्षमा भेटेर दल नेता हेरफेरसम्बन्धी आफूहरुको निर्णयलाई वैधता दिन माग गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us