
काठमाण्डु, १८ फागुन– सरकारले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपामाथि लगाएको प्रतिबन्ध हटाउने भएको छ ।
मन्त्रिपरिषद बैठकमार्फत केही दिनभित्रै विप्लव समूहमाथिको प्रतिबन्ध हटाउने तयारी सरकारको छ । सरकारले विप्लवसँग वार्ताका लागि मंगलबार मात्र गृहमन्त्री रामबहादुर थापा नेतृत्वमा दुई सदस्यीय वार्ता टोली गठन गरेको छ । वार्ता टोली गठनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा सूचना प्रविधि तथा सञ्चारमन्त्री पार्वत गुरुङले प्रतिबन्ध छिट्टै हटाइने बताए ।
सरकारले शान्तिपूर्ण राजनीतिमा ल्याउन विप्लवलाई वार्तामा बोलाएको उनले उल्लेख गरे । उनले विप्लव समूहका नेता कार्यकर्ताविरुद्धका मुद्दा र हतियार व्यवस्थापनको मोडालिटीबारे वार्ताका क्रममा कुराकानी हुने जानकारी दिए ।
दुई वर्षअघि केपी ओली नेतृत्वको सरकारले नै विप्लव समूहमाथि प्रतिबन्ध लगाएको थियो । श्रोतका अनुसार वार्ताका क्रममा ओली नेतृत्वको नेकपा र विप्लव नेतृत्वको नेकपाबीच पार्टी एकताबारे समेत अनौपचारिक छलफल भएको छ ।
ओलीले विप्लवलाई ‘राम्रै हैसियत’ सहित पार्टीमा भित्र्याउ चाहेको बालुवाटार उच्च श्रोतको दाबी छ ।