नेकपा ओली समूहकी नेतृ ब्राउन सुगरसहित पक्राउ

काठमाण्डु टुडे २०७७ फागुन १६ गते २१:१२ मा प्रकाशित

दाङ, १६ फागुन– दाङमा न्यायाधीशकी श्रीमती लागुऔषध ब्राउन सुगरसहित पक्राउ परेकी छन् ।

उच्च अदालतका एक न्यायाधीशकी श्रीमती ४२ वर्षीया तुलसा पोखरेल आइतबार पक्राउ परेकी हुन् । पोखरेल नेकपा ओली समूहकी जिल्ला सदस्य समेत हुन् । तुलसाका श्रीमान मदन पोखरेल उच्च अदालत सुर्खेतका न्यायाधीश हुन् ।

प्रहरीका अनुसार पोखरेल तुलसीपुर उपमहानगरपालिका–५ की स्थायी बासिन्दा हुन् । पोखरेलले स्कुटरमा ब्राउन सुगर लुकाएको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएका सादा पोशाकका प्रहरीले उनलाई नियन्त्रणमा लिएका हुन् ।

दाङ प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले पोखरेलको साथबाट २.२२ ग्राम ब्राउन सुगर बरामद गरिएको जानकारी दिए । रिजालका अनुसार पोखरेलले पोखरेलको रा५प ७१४६ नम्बरको स्कुटरको डिक्कीमा ब्राउन सुगर राखेकी थिइन् । प्रहरीले ब्राउन सुगर लुकाउन प्रयोग गरिएको मोटर साइकल पनि नियन्त्रणमा लिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us