
काठमाण्डु, ३ फागुन– प्रधानमन्त्री केपी ओलीले तीन कारणले सरकारले सोचेजस्तो प्रगति हासिल गर्न नसकेको बताएका छन् ।
यद्यपि आफ्नो सरकारले गरेका कामले निराश हुनुपर्ने अवस्था नरहेको उनको भनाइ छ । आफू प्रधानमन्त्रीमा निर्वाचित भएको तीन वर्ष पुगेका दिन सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आयोजित कार्यक्रममा ओलीले स्वास्थ्य, पार्टीभित्रैकै असहयोग र कोभिड–१९ महामारीका कारण सोचेजति उपलब्धी नभएको बताए ।
‘जुन आर्थिक बर्षलाई मैले समृद्धिको आरम्भ वर्षको रुपमा प्रस्तुत गरेँ, त्यसै वर्ष मबिरामी परेँ । जुन बर्ष विकासका कामलाई हामीले तीव्रताका साथ अघि बढाउनु थियो, त्यसै वर्ष कोभिड–१९ को महामारीले हामीलाई पनि अत्यायो । जतिखेर राष्ट्र एक भएर महामारीकाविरुद्ध जुध्नु पर्ने थियो, त्यही समय मेरा सहकर्मीहरु सरकार कसरी ढाल्ने भन्ने उद्यममा ज्यानै फालेर लाग्नु भयो । यसले निश्चय नै हाम्रा सफलता र सपनामाथि प्रहार भएको छ’, ओलीले भने । ओलीले नकारात्मक प्रचारबाजीका बाबजुद तीन वर्षमा भएका काम र बनेका आधारले निराश हुनुपर्ने अवस्था नरहेको उनको भनाइ छ ।