
काठमाण्डु, २७ माघ– प्रधानमन्त्री केपी ओलीले निर्वाचन आयोगमा पुगेर निर्वाचन तयारीबारे जानकारी लिएका छन् ।
ओली मंगलबार कान्तिपथस्थित आयोग कार्यालय पुगेका थिए । ओलीले मध्यावधि निर्वाचन तयारीबारे आयोगले हालसम्म गरेका कामको प्रगतिबारे जानकारी लिएको प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आयोगले निर्वाचन तयारीका काम अघि बढाएको भन्दै तोकिएकै मितिमा निर्वाचन गराउन तयार रहेको बताए । प्रधानमन्त्री केपी ओलीले गत ५ पुसमा प्रतिनिधिसभा विघटन गर्दै आगामी १७ र २७ वैशाखमा चुई चरणमा निर्वाचन घोषणा गरेका छन् ।
थपलियाले राजनीतिक रुपमा निर्वाचन हुने वातावरण भए आफूहरु समयमै निर्वाचन सम्पन्न गर्न तयार रहेको बताएपछि प्रधानमन्त्री ओलीले तोकिएकै मितिमा निर्वाचन हुने जवाफ दिए । प्रधानमन्त्रीका प्रेस सल्लाकार सूर्य थापाले नेकपा आधिकारिकता विवादबारे भने आयोगले ११ माघमै एक किसिमको निर्णय दिइसकेको ओलीलाई बताएका थिए ।
नेकपाको प्रचण्ड–नेपाल समूहले ४ सय ४१ सदस्यीय केन्द्रीय समितिमध्ये ७० प्रतिशतभन्दा बढी आफूहरुसँग रहेको भन्दै आधिकारिकता माग गरेको छ ।
२० मागमा प्रचण्ड र माधव नेपाल आफैं उपस्थित भएर दलको आधिकारिकता दाबी प्रस्तुत गरेका थिए । ओलीले भने आधिकारिकता दाबी गरेनन् । ओली समूहका महासचिव विष्णु पौडेलले आफूहरु नै आधिकारिक भएकाले दाबी गर्नै नपर्ने जिकिर गरे । चुनाव चिन्ह पनि आफूहरुले नै पाउने दाबी पौडेलले गरे ।