प्रचण्डलाई धुँदाधुँदा डल्लाका डल्ला साबुन र ट्याङ्कीका ट्याङ्की पानी सकाएँः ओली

काठमाण्डु टुडे २०७७ पुष १५ गते १७:४९ मा प्रकाशित

काठमाण्डु, १५ पुस– प्रधानमन्त्री केपी ओलीले पुष्पकमल दाहाल प्रचण्डलाई धुँदा धेरै साबुनका डल्ला र ट्याङ्कीका ट्याङ्की पानी सकाएको टिप्पणी गरेका छन् ।

नेकपा ओली समूहका अध्यक्षसमेत रहेका ओलीले सो समूहको सुदूरपश्चिम प्रदेशका कार्यकर्ता भेलालाई बुधबार राजधानीमा आयोजित भेलामा उनले प्रचण्डलाई षड्यन्त्रकारीको संज्ञा दिए । पटकपटक षड्यन्त्रकारी चरित्र छाड्न आग्रह गरे पनि प्रचण्ड तयार नभएको जिकिर उनको थियो ।

ओलीले प्रचण्डको ध्यान कसरी हुन्छ सत्ता कब्जा गर्ने मात्र रहेको आरोप लगाए । प्रचण्डले मित्रताको हंगालो हालेर धृतराष्ट्रको चरित्र प्रदर्शन गरेको आरोप ओलीले लगाए ।

नेकपा एमालेसँग मिलेर निर्वाचनमा जितेपछि प्रचण्डले ‘दक्षिणपन्थी शक्ति’ काँग्रेससँग मिलेर सरकार बनाउने प्रयास गरेको दाबी गरे । ‘षड्यन्त्रकारी प्रवृत्ति छोड्नुस् भनेर मैले उहाँलाई सम्झाएँ’, उनले भने, ‘तीन वर्षमा डल्लाका डल्ला साबुन खर्च भयो । ट्याङ्कीका ट्याङ्की पानी खर्च भयो । साबुन लगायो पखाल्यो उहाँ जस्ताको त्यस्तै ।’

ओलीले सरकारको कामममा सहयोग नगरेको भन्दै प्रचण्डप्रति रोष प्रकट गरे । छोरीलाई चुनाव जिताउन मतपत्र च्यातेको भन्दै ओलीले प्रचण्डले प्रजातन्त्रलाई धुजाधुजा पारेको आरोप लगाए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us