हटाउनै लागिएको अवस्थामा यसरी थपियो काठमाण्डुको लकडाउन

काठमाण्डु टुडे २०७७ वैशाख १४ गते १९:५६ मा प्रकाशित

काठमाण्डु, १४ वैशाख– सरकारले कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम कम भएका स्थानमा लकडाउन खुकुलो गर्दै हटाउने र उच्च जोखिम भएका क्षेत्रमा लम्ब्याउने तयारी गरेको थियो ।

कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समिति र मुख्य सचिव नेतृत्वमा सुझाव दिन गठित कार्यदलले संक्रमणको जोखिम हेरेर निर्णय गर्न सुझाएको थियो ।

तर, आइतबारको मन्त्रिपरिषद बैठकले यसअघि झैं सबैतिर लकडाउन लम्ब्याउने निर्णय गरेको छ ।

काठमाण्डु उपत्यका कोरोना भाइरसबाट सबैभन्दा न्यून जोखिम भएको क्षेत्र हो । कामाण्डुमा हाल एक जना पनि संक्रमित छैनन् ।

पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टका संक्रमित ८१ वर्षीया वृद्धाका आमाछोरा निको भएर अस्पतालबाट डिस्चार्ज भएसँगै उपत्यका संक्रमणमुक्त भएको हो ।

प्रधानमन्त्री केपी ओलीले १२ वैखाशमा वृद्धाका आमाछोरा अस्पतालबाट डिस्चार्ज भएकै दिन ट्विट गर्दै उपत्यका कोरोनामुक्त भएकामा खुसी व्यक्त गर्दै बधाई दिएका थिए ।

उपत्यकामा लकडाउन खुकुलो गरेर आर्थिक गतिविधि सञ्चालन गर्ने भित्रि तयारीबीच आएको प्रधानमन्त्रीको उक्त भनाइलाई धेरैले लकडाउन खुलाउने अर्थमा बुझेका थिए ।

उच्चस्तरीय समन्वय समितिमा सदस्य रहेका मन्त्रीहरुले समेत संक्रमणको अवस्था हेरी आवश्यक सतर्कता अपनाएर केही स्थानमा लकडाउन हटाउन सकिने धारणा राखेका थिए । तर, मन्त्रिपरिषदले भने लकडाउन बढाउने निर्णय गरेको छ ।

यसको कारण हो, थप संक्रमितहरु देखिनु र भारतमा महामारी बढ्दै जानु । आइतबार मात्र झापामा एक जना संक्रमित फेला परेका छन् ।

यस्तै कैलालीको धनगढीस्थित एक इट्टा कारखानामा काम गर्ने भारतीय दुई भारतीय मजदुरमा कोरोना संक्रमण पुष्टि भएसँगै सरकार झस्किएको हो ।

गत ५ वैशाखमा दुवै देशका सुरक्षाकर्मीलाई छक्याउँदै भारत उत्तरप्रदेशको बहराइच जिल्लास्थित घर गएका ती मजदुरमा ८ वैशाखमा गरिएको परीक्षणमा कोभिड–१९ पुष्टि भएको भारतीय अधिकारीले जनाएका छन् ।

यस्तै खुला सिमानाका कारण दशगजा क्षेत्रबाट भारतीय र नेपालीको आवतजावत भइरहेकाले पनि संक्रमणको जोखिम बढ्न सक्ने भन्दै सरकारले लकडाउन अवधि लम्ब्याउने निर्णय गरेको एक मन्त्रले बताए ।

‘खुला सिमानका कारण मानिसहरुको आउजाउ जारी छ’, ती मन्त्रीले भने, ‘नयाँ संक्रमितहरु पनि देखिने क्रम जारी रहेकाले तत्कालका लागि नखेल्दा उपयुक्त हुने निस्कर्षसहित लकडाउन लम्ब्याउने निर्णय भएको हो ।’

उनले काठमाण्डु उपत्यका मात्र खोलेर आर्थिक गतिविधि चलायमान गराउने कि भन्ने विकल्पमा छलफल भए पनि तत्काल त्यसो गर्ने परिस्थिति नदेखिएकाले लकडाउन जारी राख्ने निर्णय गरेको स्पष्ट गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us